दफा ५४
दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्व
(१) धितो लिने व्यक्तिले यस परिच्छेदका व्यवस्थाहरुको पालना नगरेमा अदालतले उपयुक्त शर्त तथा अवस्थाहरु तोकी सोही अनुसार धितोको सम्पत्तिको बेचबिखन गर्न वा बेचबिखनमा रोक लगाउने गरी आदेश जारी गर्न सक्नेछ ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा व्यावसायिक मान्यताअनुरुप मनासिब तवरले त्यस्तो सम्पत्ति बेचबिखन गर्नु पर्नेछ ।
(३) धितोको सम्पत्ति बेचबिखन भईसकेपछि धितो दिने व्यक्ति वा सूचना पाउने हक भएको व्यक्ति वा बेचबिखन गर्नुअगावै धितोको सम्पत्तिमा आफ्नो हक भएको कुरा धितो लिने व्यक्तिलाई जानकारी गराएको व्यक्तिले यस परिच्छेदका व्यवस्था पालना नभएको कारणबाट निजलाई हुन गएको हानि नोक्सानीबापतको क्षतिपूर्ति धितो लिने व्यक्तिबाट भराई लिन पाउनेछ ।
(४) धितो लिने व्यक्तिले छानेको समय तथा तरीकाभन्दा भिन्नै समय वा तरीकामा धितोको सम्पत्ति बिक्री गरिएको भएमा अधिकतम मूल्य प्राप्त गर्न सकिने थियो भन्ने आधारमा मात्र त्यस्तो बिक्री व्यावसायिक मान्यताअनुरुप मनासिब तरिकाले बेचबिखन नगरिएको भन्ने दाबी लाग्ने छैन ।
(५) धितोको सम्पत्ति जुन किसिमको छ त्यसै किसिमका सम्पत्तिका डिलरले अबलम्बन गर्ने प्रचलित व्यावसायिक मान्यताअनुरुप हुने गरी धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गरेको भएमा त्यस्तो बिक्रीलाई व्यावसायिक मान्यताअनुरुप मनासिब तरिकाले बिक्री भएको मानिनेछ ।
(६) कुनै कानूनी कारबाहीमा धितोको सम्पत्तिको बेचबिखनको कुनै खास तरीका अपनाई बेचबिखन गर्न स्वीकृति दिइएकोमा त्यसरी भएको बेचबिखनलाई पूर्णतः व्यावसायिक मान्यताअनुरुप र मनासिब तरिकाले बिक्री भएको मानिनेछ ।